पार्टी नेतृत्व छाड्न तयार छु : माओवादी केन्द्र संयोजक प्रचण्ड
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघ (अनटुफ) द्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी नेतृत्व आफ्नो लागि 'सामान्य' विषय भइसकेको भन्दै राष्ट्रको आवश्यकता अनुसार पद त्याग गर्न आफु सधैं तयार रहेको बताएका हुन्।
प्रचण्डले भने, “कतिपय मानिसहरूले भन्छन्— पार्टी अध्यक्ष छोड्। म भन्न चाहन्छु, म पार्टी अध्यक्ष मात्रै होइन, देशका लागि जे बलिदान गर्नुपर्छ, म तयार छु। अध्यक्ष, पद, कार्यकारी— यी सबै कुरा अहिले सानो भइसक्यो।”
उनले आगामी महाधिवेशनसम्म पार्टी संरचनामा आवश्यक परिवर्तन गर्न आफू पूर्ण रूपमा तयार रहेको र नेतृत्व हस्तान्तरणको सन्दर्भमा कुनै हिचकिचाहट नरहेको स्पष्ट पारे।
संयोजक प्रचण्डले आफ्नो अभिव्यक्तिमा अरू नेताहरूसमेत राष्ट्रको निम्ति त्याग गर्न तयार रहनुपर्नेमा जोड दिए। उनले भने, “मैले यी कुराहरू सोचेर केन्द्रीय समितिलाई आयोजक समितिमा, र अध्यक्षलाई संयोजकमा रूपान्तरण गरें। अधिवेशनसम्म जाँदा जस्तोसुकै त्याग गर्न तयार छु। म सबैसँग अपिल गर्दछु— राष्ट्रको लागि तयार बनौं, त्याग गर्न तयार रहौं।”
महाधिवेशनको पूर्वसन्ध्यामा आएको प्रचण्डको यस अभिव्यक्तिलाई पार्टी नेतृत्व हस्तान्तरणतर्फको संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि अध्यक्षको जिम्मेवारीमा रहेका प्रचण्डले यसअघि पनि पार्टीमा 'पुस्तान्तरण' को आवश्यकता उल्लेख गर्दै आएका छन्।
पार्टीभित्रको सन्तुलन, कार्यकर्ताको अपेक्षा र आगामी राजनीतिक समीकरणबीच प्रचण्डको यो अभिव्यक्ति माओवादी केन्द्रको नेतृत्व संरचनामा संभावित परिवर्तनतर्फको संकेतको रूपमा पनि विश्लेषण गरिँदैछ।