बञ्चरेडाँडा फोहोर विवाद समाधानका लागि सहरी विकास मन्त्रालयले आज वार्ता बोलायो
काठमाडौँ – बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा फोहोर विसर्जन रोकिएको दुई दिनपछि सहरी विकास मन्त्रालयले प्रभावित स्थानीयहरूलाई आज वार्ताका लागि बोलाएको छ।
२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर ल्याइने गाडी रोक्दै आएका छन्। फोहोर व्यवस्थापन ठप्प भएपछि काठमाडौँ महानगरपालिकाले घर र पसलमा फोहोर ननिकाल्न अनुरोध गर्दै सूचना समेत जारी गरिसकेको छ।
स्थानीय विरोधपछि मन्त्रालयले छलफल बोलाएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए। उनले भने, “हामीलाई छलफलका लागि बोलाइएको छ, हामी जाँदैछौँ। सहमति वा असहमति के हुन्छ, वार्तापछि थाहा हुनेछ।”
वार्तामा प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि र अगुवाहरू सहभागी हुने तयारी गरिएको छ। स्थानीयले भने सम्झौता कार्यान्वयन नगरेसम्म फोहोर विसर्जनमा अवरोध कायम रहने चेतावनी दिएका छन्।