असोज १७ देखि २० गतेसम्म भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताएको छ । यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह नजिक पुग्न सक्ने देखिएको छ ।
‘बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा आकस्मिक बहाव र डुबानको जोखिम उच्च छ, त्यसैले सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछौँ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।
दसैँको भिडभाडलाई ध्यानमा राख्दै प्राधिकरणले अत्यावश्यक नभई सकेसम्म घरभन्दा टाढा र विशेष गरी राति यात्रा नगर्न आग्रह गरेको छ । सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउन सक्ने र सो निर्णय पालना गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
त्यस्तै, पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र डुबान हुने सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन आग्रह गरिएको छ ।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थालाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिएको छ । जोखिमयुक्त सडक र राजमार्गमा तुरुन्त परिचालन गर्न डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
