अनुमति बिना कांग्रेस बैठकमा महाधिवेशन कार्यतालिका पेस गर्ने गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनुमति नदिए पनि आज केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने भएका छन् ।
दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा अनुमति नपाए पनि कार्यतालिका पेस गर्ने जानकारी पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालालाई दिएका हुन् ।
डा.कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा शुक्रबार बिहान आफू निकट पदाधिकारीहरूसँग आफ्नो सम्पर्क कार्यालय विशालनगरमा छलफल गरेका थिए ।
त्यो छलफलमा थापाले आजको बैठकमा अनुमति नपाए पनि कार्यतालिका पेस गर्ने बताएको बैठकमा सहभागी एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।
‘हिजो कार्यतालिका पेस गर्न पाउन्नस् भनेपछि बैठकमा सहभागी भइन । आज बैठकमा सहभागी हुन्छु । अनुमति नपाए पनि कार्यतालिका पेस गर्छु,’ कोइरालासँगको छलफलमा थापाले राखेको धारणा उल्लेख गर्दै एक पदाधिकारीले भने ।
थापाले बैठकअघि कार्यवाहक सभापति खड्कासँग कार्यतालिका पेस गर्ने विषयमा सहमति जुटाउन प्रयास भने गर्ने बताएका थिए । महामन्त्री थापाले यसअघि नै मङ्सिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका सचिवालयमार्फत बाहिर ल्याइसकेका छन् ।
डा.कोइरालाले बिहान छलफलका लागि उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेलाई बोलाएका थिए ।
कोइरालाले भने पार्टी अप्ठ्यारो परिस्थितिमा पुगेको भन्दै एकताबद्ध भएर नियमित महाधिवेशनको माग गर्नुपर्ने बताएका थिए । त्यसका लागि सबै एकताबद्ध भएर संस्थापनसँग धारणा राख्नुपर्ने डा.कोइरालाको भनाइ थियो ।
‘नियमित महाधिवेशन गर्नुको विकल्प हामीसँग छैन । एकताबद्ध भएर नियमित महाधिवेशन भनेनौँ भने पार्टी धरापमा पर्छ,’ कोइरालाले छलफलमा भनेका थिए, ‘हामी सबै एक भएर संस्थापनलाई दबाब दिनुपर्छ ।’