नवनियुक्त मन्त्रीहरूको शपथ साढे २:३० बजे हुने
काठमाडौँ, कात्तिक ९— प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो २:३० बजे चार नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हुने सो शपथ ग्रहणमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई मन्त्री पदको जिम्मेवारी दिइने छ।
डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछिन्। उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् र २०६५–२०६८ सालसम्म स्वास्थ्य मन्त्रालयमा सचिवको कार्यभार सम्हालेकी थिइन्।
गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीको जिम्मेवारी दिइने भएको छ। उनी सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा लामो समयदेखि सक्रिय छन्।
खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका छन्। दलित हकहित र छुवाछूत जस्ता सामाजिक मुद्दामा उनी सक्रिय रहेका छन्।
बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री हुने तय भएको छ। उनी परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्।
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तारसँगै हाल ७ सदस्यीय मन्त्रिपरिषद् ११ सदस्यीय हुने छ।