आगामी प्रतिनिधिसभा चुनावमा ७ अर्ब ५० करोड खर्च हुने अनुमान
काठमाडौँ, कात्तिक ९ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुने चुनावमा करिब ७ अर्ब ५० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ।
आयोगका अनुसार, बजेट तयारी प्रक्रिया अन्तर्गत आवश्यक सामग्री खरिद, कर्मचारी व्यवस्थापन र आकस्मिक खर्चको लागि रकम छुट्याउने तयारी भइरहेको छ। निर्वाचनका लागि आवश्यक सामग्री छठ पर्व सकिएलगत्तै खरिद गर्नुपर्ने आयोगको योजना छ।
निर्वाचनमा हिमाली क्षेत्रका लागि हेलिकप्टर प्रयोग गरी कर्मचारी र सामग्री ढुवानी गर्ने प्रावधान राखिएको छ। आयोगले एक हजार मतदाता अनुसार एउटा मतदान केन्द्र स्थापना गर्ने र हरेक मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी परिचालन गर्ने तयारी गरिरहेको छ।
निर्वाचन आयोगले बजेटको अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पेश गर्ने तयारी पनि गरिरहेको छ।