चौकुनेमा भतिजको हत्या आरोपमा काका पक्राउ
१२ कात्तिक, सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ गुटुका २१ वर्षीय भुवन धमलाको हत्या आरोपमा उनका काका २० वर्षीय हेमन्त धमला (हिरा) पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बाबियाचौर र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवै जना ३ कात्तिक राति चौकुने–१०, घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न सँगै गएका थिए ।
भुवन ४ कात्तिकसम्म घर नफर्केपछि परिवारले प्रहरीमा बेपत्ता भएको निवेदन दिएका थिए । लगातारको खोजीपछि ७ कात्तिक दिउँसो चौकुने–१० को ताताथाई भन्ने स्थानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढ्थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार शवको प्रकृति र शरीरमा गम्भीर चोटपटक देखिएपछि प्रहरी हत्या भएको निष्कर्षमा पुगेको थियो । अनुसन्धानका क्रममा हेमन्तको ज्याकेटमा रगतका दाग फेला परेपछि उनलाई केन्द्रित अनुसन्धान गर्दा घटनामा उनको संलग्नता खुलेको हो ।
प्रहरीका अनुसार जात्राको राति दुवैबीच मदिरा सेवनपछि मोबाइल र पैसाका विषयमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा हेमन्तले भुवनलाई निर्घात कुटपिट गरेका थिए, जसका कारण उनको मृत्यु भएको ठहर प्रहरीले गरेको छ ।
मृतकका आफन्तले हेमन्तविरुद्ध किटानी जाहेरी दिएका छन् । हेमन्तलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी बुधबार म्याद थप गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।