‘जेन-जी’ प्रदर्शनमा क्षतिको मूल्याङ्कनका लागि ३८ टोली परिचालन
काठमाडौं, १४ कात्तिक – गत भदौ २३–२४ को ‘जेन-जी’ प्रदर्शनमा सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन गरिएको छ।
राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार, टोलीहरूले आगामी हप्ताभित्र सबै क्षतिको विवरण सङ्कलन गर्ने लक्ष्य राखेका छन्। आयोगले तथ्याङ्क सङ्कलनलाई सहज बनाउन ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ सञ्चालन गरेको छ र सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयहरूले अनलाइनमार्फत विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
प्रदर्शनका क्रममा क्षति पुगेका करिब २६० पालिका, सबै प्रदेश तथा सङ्घीय निकायलाई पोर्टलमा ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ। साथै, प्राविधिक सहयोगका लागि टोलीहरू खटाइएको छ।
यसअघि असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी क्षतिको मूल्याङ्कन र पुनःनिर्माण योजना तयार गर्न कार्यादेश दिएको थियो। आयोगका सहसचिवको नेतृत्वमा उपसमितिहरू र ३८ टोली परिचालन गरी सम्पूर्ण प्रक्रिया सम्पन्न गरिने योजना छ।