युवराज अधिकारी चार वर्षे कार्यकाल सकिएपछि पनि गैरकानूनी रूपमा निगमको अध्यक्ष पद सम्हाल्दै
काठमाडौं, ९ कात्तिक – चार वर्षे कार्यकाल ७ कात्तिकमा सकिएको नेपाल वायुसेवा निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीले अझै अध्यक्ष पद सम्हाल्दै गैरकानूनी काम गरिरहेको पाइएको छ। निगम स्रोतका अनुसार अधिकारी आइतबार कार्यालय उपस्थित नभए पनि बाहिरै बसेर निगमको काम सञ्चालन गरिरहेका छन्।
सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार अधिकारीको कार्यकाल ८ कात्तिक २०७८ देखि चार वर्षका लागि सुरु भएको थियो र ७ कात्तिक २०८२ मा सकिनुपर्ने थियो। वरिष्ठ अधिवक्ता गान्धी पण्डितका अनुसार, कार्यकाल प्राप्त पत्र प्राप्त मितिबाट होइन, मन्त्रिपरिषद्को निर्णय मितिबाट गणना हुन्छ।
तर, कार्यकाल सकिएपछि पनि अधिकारीले निगमको प्रणाली, इमेल र आन्तरिक ग्रुपमा पहुँच राख्दै गैरकानूनी रूपमा काम गरिरहेका छन्। कर्मचारी हटाउन खोज्दा धम्क्याउने तथा आफ्नो पदको दाबी गर्दै निगमको गतिविधिमा हस्तक्षेप गरेको निगम स्रोतले जनाएको छ।
उक्त कार्यकालमा अधिकारीले विवादित नियुक्ति र बढुवाका निर्णयहरू गरेका थिए। असोजको पहिलो साता उनले तेस्रो, चौथो र पाँचौं तहमा ४५ जना कर्मचारी बिना लिखित परीक्षा नै नियुक्त गरेका थिए। कार्यकाल सकिएपछि समेत उनी नियुक्तिपत्र बाँड्दै गैरकानूनी प्रक्रिया अगाडि बढाएका थिए।
त्यसैगरी, अधिकारीले विदेशस्थित निगम कार्यालयमा कर्मचारी सरुवा गर्ने तयारी पनि गरेका थिए, जुन समाचार सार्वजनिक भएपछि अर्थ मन्त्रालयले तत्काल रोक लगाएको थियो। उनले पाँच जना कर्मचारीलाई ‘निमित्त’ उपनिर्देशकमा बढुवादेखि विदेश यात्रासम्म सुविधा दिने गरी निगममा अनावश्यक आर्थिक भार थपेका थिए।
निगमका कर्मचारीहरूले अधिकारीको कार्यकालमा निगमको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको र गैरकानूनी काम जारी राखेको बताएका छन्।