अनेरास्ववियुले बुझायो जाहेरी, दर्ता गर्न २४ घण्टाको समय
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्धको जाहेरी प्रहरीलाई बुझाएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिक बडालले प्रहरीलाई जाहेरी दिएका हुन् । तर सरकारी वकिल कार्यालयसँग छलफल गरेर थप निर्णय लिने प्रहरीले जवाफ दिएको बडालले बताए । ‘जाहेरी प्रहरी कार्यालयमा छोडेको छौँ । २४ घण्टा भित्र जाहेरी दर्ता भएन भने थप न्यायिक निरुपणमा लागि अगाडि बढ्छौं,’ बडालले प्रहरी परिसरबाट भने ।
यस्तै महासचिव धामीले पछिल्ला दिनहरूमा भएका घटनाप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण गराएको बताए । ‘कुनै मान्छेले हुंकार गरेकै भरमा सरकारी कार्यालय चल्दैन । विधिको शासन हुनुपर्छ । सरकारी कार्यालयमा छिरेर उर्दी जारी गर्ने काम सह्य हुँदैन । दलीय राजनीति बाहिर छ भनेर सरकारी कार्यालयमा हुकुमी शासन चल्दैन,’ उनले भने ।