इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै
काठमाडौं कात्तिक २, । इजरायलमा हमासको आक्रमणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदैछ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव *फ्लाई दुबई*को विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो। उक्त विमान भोलि दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित हुने तयारी भइरहेको छ।
विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धकमा परेका थिए। लामो समयसम्म उनी बेपत्ता रहेका विपिनको मृत्यु इजरायली अधिकारीहरूले गत असोज २७ गते पुष्टि गरेका थिए।
हमास र इजरायलबीच युद्धविरामपछि भएको बन्दी साटासाट प्रक्रियामा विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरिएको थियो। शवको डीएनए परीक्षण र फरेन्सिक जाँचपछि अपहरण भएको केही समयमै उनको मृत्यु भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।