तार्केश्वरमा मोटरसाइकल दुर्घटना, चालक अमित पुतुवारको मृत्यु
काठमाडौँ — काठमाडौँको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तार्केश्वर नगरपालिका–पुसल बस्ने पुतुवारको सोमबार बिहान स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
प्रवक्ता सुवेदीले बताए अनुसार, आज बिहान करिब ३ः४५ बजे बा.प्र.०२–०५३ प ९६७९ नम्बरको मोटरसाइकल तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउँदै गर्दा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा चालक अमित गम्भीर घाइते भएका थिए।
त्यही मोटरसाइकलमा सवार तार्केश्वर–३ का २० वर्षीय समिर पुतुवारको हात, खुट्टा, टाउको र छातिमा चोट लागेको छ। उनलाई थप उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।