धनकुटाको निगालेमा बस दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते
विराटनगर, असोज २९ –धनकुटाको महालक्ष्मी नगरपालिका अन्तर्गत निगालेमा बुधबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना यात्रु घाइते भएका छन्।
प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको बस विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गर्दा दिगालेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
दुर्घटनामा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको पुष्टि गरिएको छ।
बसमा ३० जना सवार थिए।
घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र थप विवरण संकलन भइरहेको जनाइएको छ।
दुर्घटनाको कारण प्रष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।