सरकार ‘जेनजी’ को भए पनि त्यो जेनजीमा म पर्दिनँ : मिराज ढुंगाना
काठमाडौं —जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकार जेनजी (Gen Z) पुस्ताले नै बनाएको भए पनि आफू त्यो खालको जेनजीमा नपर्ने स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले जेनजीभित्रै थुप्रै फ्र्याक्सन (उपसमूह) रहेको उल्लेख गर्दै आफूले प्रतिनिधित्व गर्न खोजेको जेनजी चेतनशील, संगठित र वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको बताए।
“सरकार जेनजीको हो, तर त्यो जेनजीमा म पर्दिनँ,” ढुंगानाले भने, “१९९७ देखि २०१२ सम्म जन्मिएका सबैलाई जेनजी भनिन्छ। तर सबैको विचार एउटै हुँदैन। अहिलेको जेनजीमा थुप्रै फ्र्याक्सन छन्।”
पत्रकार सम्मेलनमा उनले आफूले खोल्न लागेको नयाँ राजनीतिक दल चुनाव जित्न वा केवल भाग लिनकै लागि नभएको दाबी गरे। “हामी अहिलेको चुनावमा जान तयार छैनौं, जबसम्म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको संरचना र सेरेमोनियल राष्ट्रपतिको मोडल स्वीकार हुँदैन,” उनले भने।
ढुंगानाले पार्टी गठन प्रक्रिया अगाडि बढेको जानकारी दिँदै त्यसका लागि वार्ता समिति समेत गठन भइसकेको बताए। पार्टीले बटमलाइन एजेन्डा पूरा नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने पनि उनले दोहोर्याए।
उनका अनुसार वर्तमान सरकारलाई जनताले केवल चुनाव गराउने होइन, संरचनागत सुधार गर्ने म्याण्डेट पनि दिएको छ। “चुनाव गराउनु मात्रै अहिलेको सरकारको म्याण्डेट होइन। जनताले बलिदान गरेर अरू थुप्रै म्याण्डेट दिएका छन्, त्यो प्रधानमन्त्रीले बुझ्नुपर्छ,” उनले चेतावनी शैलीमा भने।
ढुंगानाले तितरबितर भएका जेनजी समूहहरूलाई एकीकृत गर्दै संगठित राजनीतिक दबाब समूह बनाउने उद्देश्यले नयाँ दलको खाका अघि सारिएको स्पष्ट पारे।
उनले पार्टीको नाम चाँडै सार्वजनिक गरिने जानकारी पनि दिएका छन्।