जन्ती बोकेको जिप सल्यानमा दुर्घटना, ७ जना घाइते
सल्यान जिल्लाको शारदा नगरपालिका- ९ ज्वालापुरमा बिहे जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। आज दिउँसो १५२५ बजे लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप शारदा नगरपालिका- १० भागाचौरबारबाट शारदा नगरपालिका-९ सानिगारी तर्फ जाँदै गरेको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो ।
दुर्घटनामा जिपमा सवार ११ जना रहेको र जसमा ७ जनामात्र घाइते भयका छन् । घाइतेहरूको हातखुट्टा लगायतका भागमा चोटपटक लागेको र उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको वडा अध्यक्ष हेमन्त कुमार बुढाथोकीले जानकारी दिनुभयो।
उनका अनुसार, "जिप विवाह समारोहका जन्तीहरू बोकेर जाँदै गरेको समयमा सडकको उकालो भागमा नियन्त्रण गुम्दा दुर्घटना भएको हो। जिपमा सवार घाइते भन्दा बाकी ४ जना जन्ती सामान्य अवस्थामा रहेको उहाँले बताउनुभयो।"
स्थानीयवासीका अनुसार, दुर्घटना भएको सडक खण्ड साँघुरो र जोखिमपूर्ण रहेको छ। पहाडी भू–भागमा सडकको गुणस्तर कमजोर हुनु र सवारी क्षमताभन्दा बढी मानिसहरू चढ्ने प्रवृत्ति अझै पनि कायम रहेकाले दुर्घटनाको जोखिम बढ्दै गएको जनाइएको छ।