मोरङमा बाढीले सयौं घर डुबानमा, सुरक्षित स्थानमा सारिँदै
अविरल वर्षापछि मोरङका विभिन्न स्थानमा नदी-खोलाको पानी पस्दा बस्तीहरू डुबानमा परेका छन्।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार केही बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने केही ठाउँमा खोलाको बाँध मर्मत र खोलालाई च्यानलाइज गर्ने काम जारी छ।
विराटनगर–१२ को सम्पन्न बस्तीका करिब ७५ घरका ३५० जनालाई तत्काल बखरी आधारभूत विद्यालय, दरैया आधारभूत विद्यालय र नयाँ फ्याक्ट्री क्षेत्रमा स्थानान्तरण गरिएको छ।
विराटनगर–२ मा सिँघिया खोलाको पानी पस्दा करिब ३०/३५ घरमा जोखिम बढेकाले स्थानान्तरणको तयारी गरिएको छ।
विराटनगर–५ केशलिया ढाट, शंकरवारी टोल र केशलिया खोलाको वरिपरिका २०/२५ घरमा पनि पानी पसेको छ। स्थानीय प्रशासनले ती बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरिरहेको छ।
सुनबर्शी–६ मा बक्राहा खोलाको बाँध मर्मत कार्य जारी छ। त्यस्तै, उर्लावारी–९ बोर्डरलाइन क्षेत्रमा रतुवाखोलाको पानी पस्दा १५/२० घर प्रभावित भएका छन् र ती परिवारलाई छिमेकका घरहरूमा अस्थायी रूपमा सारिएको छ।
सुनबर्शी–३ बाहुनटोलमा बक्राहा खोलाले करिब ४/५ मिटर बाँध कटान गरेको छ, जसका कारण ५०/६० घरमा पानी पसेको छ।
उता, मिक्लाजुङ–६ मलामिटहरा नजिक नुनसरी खोलाको बाँध कटान हुँदै गएको र स्थानीय स्तरमा खोलालाई च्यानलाइज गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए।