२५ उद्योगको लाइन काट्दा २०० मेगावाट विद्युत् बचत
नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको बिजुली काटेको छ। कात्तिक ४ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत अहिलेसम्म २५ उद्योगको लाइन काटिँदा करिब २०० मेगावाट विद्युत् बचत भएको छ, जुन भारतमा निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए।
उनका अनुसार उद्योगहरूले ९–१२ रुपैयाँ प्रतियुनिट तिर्दा भारतमा ११ रुपैयाँभन्दा बढीमा बिजुली बिक्री हुने भएकाले प्राधिकरणलाई घाटा छैन।
बिजुली काटिएका उद्योगहरूमा जगदम्बा स्टील, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, रिलायन्स स्पिनिङ लगायत छन्। ९ उद्योगले पहिलो किस्ता बुझाएकाले कटौती गरिएको छैन।
हाल नेपालले भारतलाई दैनिक १,१४० मेगावाट बिजुली निर्यात गरिरहेको छ, जसमा उद्योगबाट कटौती भएको २०० मेगावाट पनि समावेश छ। चालु आर्थिक वर्षमा करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली भारत र बंगलादेशमा निर्यात भइसकेको छ।