भारी वर्षाको चेतावनीः मोरङमा लामो दूरीका बस सेवा स्थगित
मोरङ जिल्ला विपद् व्यवस्थापन समितिले आगामी असोज १७ देखि २० गतेसम्म भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई दृष्टिगत गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले रत्नकालिन लामो दूरीका बस सेवाहरू स्थगित गर्ने र विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार आगामी असोज १७, १८, १९ र २० गते भारी वर्षाको मौसम पूर्वानुमान भएकाले मोरङ जिल्लाबाट अन्यत्र चल्ने सबै लामो दूरीका बस सेवाहरू पूर्ण रूपमा स्थगित गरिनेछ ।
विपद्को सम्भावित जोखिम न्यूनीकरणका लागि समितिले जनचेतना फैलाउने कार्यलाई तीव्र पारेको छ । विशेष गरी केराघारी, सिंगिया र रैया खोलाको आसपासका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पूर्व सचेतना दिन र आवश्यक परेमा सुरक्षित स्थानमा सार्नका लागि माइकिङ गरिनेछ । विपद् सम्बन्धी जानकारी विभिन्न सञ्चार माध्यम, कार्यालयका आधिकारिक पेज र स्थानीय सञ्चार माध्यमबाट प्रभावकारी रूपमा सम्प्रेषण गरिनेछ ।
यसका साथै, विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सबै स्थानीय तहमा रहेका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र (LEOCs) लाई पूर्ण रूपमा सक्रिय रहने निर्देशन दिइएको छ । यसका लागि स्थानीय स्वयंसेवक, गैरसरकारी संस्था र निजी संस्थाहरूको सहभागिताका लागि अनुरोध गरिएको छ ।
सबै सुरक्षा निकायका पदाधिकारीहरू सम्मिलित कमाण्ड पोष्ट निरन्तर सञ्चालनमा रहनेछ र निकायहरूबिच समन्वय कायम गरिनेछ । आवश्यक परेको खण्डमा तत्काल प्रतिकार्यका लागि नेपाली सेनाको हेलिकप्टर टिम स्ट्यान्डबाई रहने जानकारी सबै सम्बन्धित स्थानीय तह र निकायहरूलाई गराइएको छ ।
जिल्लाका जुनियरका जोडीयुक्त सूचनाका लागि स्थानीय सुरक्षा युनिटहरूलाई पनि पूर्व सचेतना र प्रतिकार्यका लागि आवश्यक निर्देशन दिइएको छ । जिल्ला अस्पतालहरूलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।
प्रतिकार्य र पूर्वतयारीका लागि आवश्यक पर्ने ठूला उपकरणह परिचालनका लागि डिभिजन, स्थानीय तह र निजी क्षेत्रलाई समेत जिम्मेवारी तोकिएको छ । विपद् सूचना तथा सहयोगका लागि नेपाल प्रहरीको टोल फ्री नम्बर १०० र सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्बर १११४ लगायत कमाण्ड पोष्टमा रहने पदाधिकारीहरूको मोबाइल नम्बरहरू सार्वजनिक गरिएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले सम्भावित विपद्को जोखिमबाट जोगिन सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, आवश्यक पूर्वतयारी गर्न र समितिले जारी गर्ने सूचना तथा निर्देशनहरू पालना गर्न हार्दिक अनुरोध गरेको छ ।