जनकपुरको सोनारपट्टीमा प्रहरीको गोली प्रहार, सुनचाँदी व्यवसायीहरूसँग झडप
जनकपुर – जनकपुरधाम उपमहानगरपालिका–५ स्थित सोनारपट्टीमा शुक्रबार साँझ प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले गोली प्रहार गरेको पुष्टि भएको छ ।
प्रहरी स्रोतका अनुसार, बिलबिजक बिना सुनचाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले एक सुनचाँदी पसलमा छापा मारेको थियो । तर, सो कारवाहीमा अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।
कति राउन्ड फायर भएको हो भन्नेबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।
सञ्चालित छापा तथा झडपबाट कोही घाइते भए या नभएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ र स्थिति नियन्त्रणमा रहेको जनाइएको छ ।
अवैध कारोबारविरुद्ध प्रहरीको कारवाही जारी रहेको छ ।