मनाङमा भारी हिमपातपछि जनजीवन प्रभावित, उद्धार कार्यमा कठिनाइ
मनाङ । लगातारको भारी हिमपातपछि मनाङको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ। हिउँका कारण सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दा र पर्यटक दुबैजनाले कठिनाइ भोगिरहेका छन्।
प्रमुख जिल्ला अधिकारी युवराज पौड्यालका अनुसार हिउँमा फसेका पर्यटकको उद्धारका लागि सुरक्षा निकाय बिहानैदेखि सक्रिय छन्, तर सवारीसाधन अभावका कारण उद्धार कार्यमा समस्या आइरहेको छ।
“फसेका पर्यटकको उद्धार गरिरहेका छौँ। तर सवारीसाधन पनि हिउँमा फसेकाले थप कठिनाइ भएको छ,” पौड्यालले बताए।
उनका अनुसार तिलिचो आधार शिविरमा अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको छ भने खाङ्सार क्षेत्रमा रहेका अन्य पर्यटकलाई स्थानीय स्तरमा व्यवस्थापन गरिएको छ। करिब २५ किलोमिटर सडकखण्डमा हिउँ फालेर आवागमन सहज बनाउन प्रयास भइरहेको उनले जानकारी दिए।
स्थानीय पर्यटन व्यवसायीका अनुसार केही पर्यटकलाई घरबासमा र केहीलाई निजी घरमा बसोबासको व्यवस्था गरिएको छ। उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित रहेका छन्।