दुर्गा मूर्ति विसर्जनका क्रममा खोलामा डुबेर तीन जनाको मृत्यु
रूपन्देही, कात्तिक ६ —रूपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा बुधवार साँझ दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा खोलामा डुबेर रूपन्देहीकै मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार गाउँलेहरू दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा मूर्ति विसर्जन गर्न पुगेका थिए। विसर्जनको क्रममा ती तीन जना नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले तत्काल खोजीकार्य थालेका थिए।
डीएसपी कार्कीका अनुसार खोजीका क्रममा नदीबाट करिब २ सय मिटर तल तीनै जनाको शव बुधवार साँझ फेला परेको हो।
घटनापछि स्थानीयवासीमा शोक छाएको छ। प्रहरीका अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको छ।