गायिकाको आत्मदाह प्रयासपछि बाबुल गिरी सोधपुछका लागि प्रहरी नियन्त्रणमा
काठमाडौं — गायिका नितु पौडेलले शनिबार अनामनगरस्थित गायक तथा संगीतकार बाबुल गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेपछि गायक गिरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।
घटनाको क्रममा गायक गिरी पनि सामान्य घाइते भएका थिए। कीर्तिपुरस्थित बर्न अस्पतालले उनलाई डिस्चार्ज गरिसकेको छ। डिस्चार्ज पछि प्रहरीले उनलाई घटनाका बारेमा बुझ्नका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार, ‘के कसरी घटना भएको हो भन्ने विषयमा बुझ्नका लागि उनलाई नियन्त्रणमा राखिएको हो। अहिलेसम्म कुनै उजुरी वा जाहेरी नपरेकाले मुद्दा चल्ने अवस्था छैन।’ साथै, गिरीलाई म्याद थपेर मुद्दा चलाउनुपर्ने कुनै कारण पनि नभएको बताए।
यो घटनाले संगीत क्षेत्रमा छाएका विवाद र तनावलाई पुनः ध्यानाकर्षण गराएको छ। प्रहरीले घटनाको सबै पक्षबारे छानबिन गरिरहेको छ।