जेनजी आन्दोलनमा लुटिएको पेस्तोल बिक्रीमा संलग्न पाँच जना पक्राउ
१४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले धादिङ, काठमाडौं र भारतका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ धुनिवेशीका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं–१५ का २५ वर्षीय राजन देउला, भारत सितामढीका २४ वर्षीय अकबर खान, काठमाडौं बिजेश्वरीका २६ वर्षीय सुमिन शाक्य र नयाँ बानेश्वरका ३८ वर्षीय प्रभात मल्ल रहेका छन्।
प्रभात मल्ललाई हतियार खरिदकर्ता र कृष्ण गुरुङलाई पेस्तोल लुटपाटमा संलग्न व्यक्ति भनेर प्रहरीले पहिचान गरेको छ। अन्य तीन जना बिक्रीमा संलग्न रहेको बताइएको छ।
उनीहरूको साथबाट एक थान पेस्तोल, म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ। पक्राउ परेकामाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।