महाकाली नगरपालिकामा जीप दुर्घटनामा परी एक जनाको मृत्यु
दार्चुलाको महाकाली नगरपालिका–६ निसिलमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी गौरव महतका अनुसार आइतबार महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
साकारमा क्रिकेट प्रतियोगिता हेरेर घर फर्किदै गरेका यात्रु बोकेको जीप दुर्घटना भएको हो । जीपमा जम्मा १४ जना सवार रहेकोमा दुर्घटनामा परी सोही ठाउँका स्थानीय नरेशबहादुर पालको मृत्यु भएको हो ।
दुर्घटनास्थलबाटै बेहोस अवस्थामा उद्धार गरिएका पाललाई अस्पतालले मृत घोषणा गरेको हो । उकालोमा गाडीले तान्न नसकेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। चालकको टाउकोमा चोट लागेको छ ।