आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
कार्तिक शुक्ल षष्ठीका अवसरमा आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानी स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले बेलुकी सूर्यलाई अर्घ्य दिने परम्परा छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधनाको यो पर्व शनिबारदेखि सुरु भएको हो। धार्मिक ग्रन्थअनुसार द्रोपदी र पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि यो परम्परा सुरु भएको मानिन्छ।
सूर्य पुराणका अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्, जसले उनलाई अटल सौभाग्य र पतिप्रेम दिलायो। सूर्यको आराधनाले रोग, दरिद्रता र दुःखबाट मुक्ति मिल्ने जनविश्वास छ।
षष्ठीको रातभर जाग्राम बसेपछि भोलिपल्ट सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व समापन गरिन्छ। यस अवसरमा राजधानीको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी लगायत नदीकिनारहरू विशेष रूपमा सजाइएका छन्।
तराईमा मात्र सीमित छठ पर्व अहिले राष्ट्रिय चाडको रूपमा विकसित भएको छ, जसको अवसरमा सरकारले देशव्यापी बिदा दिने गरेको छ।