अमेरिकाद्वारा रुसी तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध, ट्रम्पको ‘कडा कदम’
काठमाडौँ — अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूबाट इन्धन नकिन्ने घोषणा गरेको छ। रुस–युक्रेन युद्धविरामका प्रयासबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णयलाई “आवश्यक कडा कदम”का रूपमा घोषणा गरेका हुन्।
ट्रम्पले ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा भने, “रूससँग वार्ताका लागि हामीले पर्याप्त समय पर्ख्यौं, तर उल्लेख्य प्रगति भएन। अब प्रतिबन्ध लगाउने समय आएको छ।” उनले थपे, “यी प्रतिबन्धहरू लामो समय रहने छैनन्, किनभने युद्ध अन्त्य हुनेछ।”
अमेरिकी उच्च अधिकारीहरूको अनुसार, प्रतिबन्धले रूसी तेल कम्पनी रोसनेफ्ट र लुकोइलसहित तिनका झण्डै तीन दर्जन सहायक कम्पनीहरूलाई सोझो असर गर्नेछ। वाशिंगटनले यी कम्पनीहरूले क्रेमलिनको युद्ध संयन्त्रका लागि आर्थिक सहायता पुर्याइरहेको आरोप लगाएको छ।
यसअघि नै युरोपेली संघ (इयु) ले सन् २०२८ जनवरी १ देखि रुसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। रुसले युक्रेन युद्ध सुरु भएपछि बारम्बार ग्यास आपूर्ति अवरुद्ध गर्दै त्यसलाई ‘राजनीतिक हतियार’को रूपमा प्रयोग गरेपछि इयुले यो कदम चालेको हो।
गत बिहीबार राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको थियो। वार्तापछि हंगेरीको राजधानी बुडापेस्टमा दुई राष्ट्रपतिबीच भेटवार्ताको सम्भावना रहेको खबर सार्वजनिक भए पनि, समय र मिति अझै तय भएको छैन। अमेरिकी र रुसी अधिकारीहरूका अनुसार, तत्काल भेटवार्ता हुने सम्भावना “कम” देखिन्छ।
सन् २०२२ देखि जारी रुस–युक्रेन युद्ध अन्त्यका प्रयासस्वरूप यसअघि अलास्कामा दुई नेताबीच भेटवार्ता भए पनि कुनै ठोस निर्णय निस्किएको थिएन।