जेनजी आन्दोलनको क्रममा दमक भ्यू टावरमा २५ करोड बराबरको क्षति
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा झापाको दमक ३ स्थित भ्यू टावरमा साढे २५ करोडको क्षति भएको सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख रमेश थिङले जानकारी दिए। एक अर्ब ६४ करोड खर्चेर बनाएको भ्यू टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड भएपछि अहिले बन्द गरिएको छ।
२३ मङ्सिर २०८१ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको भ्यू टावर गत १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो। व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो ।
१८ तले भ्यु टावरको सबै सिसा फुटाएको, गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको थियो । जान सक्ने अवस्था पनि नभएको भ्यू टावरको भित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्रचाहिँ आगो लाग्न पाएन ।
सर्वसाधारणको लागि श्रावण देखि खुल्ला गरिएको भ्यू टावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको थियो । पहिलो एक महिनामा ६ हजार ७ सय १३ जनाले भ्यू टावर चढेर दृश्यावलोकन गरेका थिए भने २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ सङ्कलन भएको थियो । सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यू टावरको दृश्यावलोकन गरेका थिए ।