विपी राजमार्ग आजदेखि खुल्ने सम्भावना
यही असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाले चार किलोमिटर सडक बगाएपछि क्षतिग्रस्त बनेको बीपी राजमार्ग मर्मतका लागि बिहीबार रातभर काम गरिएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेश र ठेकेदार कम्पनीका टोली शुक्रबार दिउँसोसम्म एकतर्फी भए पनि सडक खुलाउने गरी रातभर मैदानमा खटिएका छन् ।
न्यौपानेका अनुसार चारसयबेंसी, चिउरीबास र माथिल्लो माम्ती क्षेत्रमा मेशिनरी प्रयोग गरी निरन्तर काम गरिएको छ । उपकरणले ठीकठाकसँग काम गरे आज दिउँसोदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आउने छ ।
पहिलो चरणमा अस्थायी रूपमा एकतर्फी सवारी सञ्चालन गर्ने र पछि दुईतर्फी बनाउन कार्य अघि बढाइनेछ । गत वर्ष पनि असोजमा करिब १२ किलोमिटर सडक बाढीले बगाएको थियो । स्थायी पुनर्निर्माणको ठेक्का प्रक्रिया पूरा भए पनि वर्षाभर अस्थायी मर्मतकै भरमा सवारी सञ्चालन हुँदै आएको थियो । हाल वैकल्पिक रूपमा सिन्धुलीको खुर्कोट हुँदै सवारी डाइभर्ट गरिएको छ ।
राजधानी काठमाडौंलाई जोड्ने सबैभन्दा छोटो यो राजमार्ग अवरुद्ध हुँदा दसैंमा पूर्वी नेपाल गएका यात्रुहरू हेटौंडाहुँदै दामनको लामो यात्रा गर्न बाध्य छन् । निजी तथा सार्वजनिक सवारी साधनहरूको चापले हेटौंडा–दामन–काठमाडौं सडकमा लामो जाम देखिँदै आएको छ ।