एनआरएनले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण
काठमाडौं। गैरआवासी नेपाली संघ (एनआरएन)ले जेनजी आन्दोलनमा ध्वस्त भएको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ।
काठमाडौँको रामशाह पथस्थित सो कन्ट्रोल रुम जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षति भएको थियो। एनआरएन उपाध्यक्ष महेशकुमार श्रेष्ठले मातृभूमि सहयोगको भावनामा पुनर्निर्माण कार्य सम्पन्न भएको बताए। उनले कन्ट्रोल रुम दीर्घकालसम्म सञ्चालनयोग्य र अपरेटरको सहजतालाई ध्यानमा राखेर निर्माण गरिएको बताए।
प्रहरी एआईजी कार्कीले एनआरएनको यो योगदानको प्रशंसा गर्दै मातृभूमिप्रतिको मायाको प्रतीक भएको उल्लेख गरे।
पुनर्निर्मित कन्ट्रोल रुमबाट काठमाडौँ, ललितपुर र भक्तपुरको ट्राफिक व्यवस्थापन हुने र यसले उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो सहजता ल्याउने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।