प्रधानमन्त्री कार्कीको भाइटीका दिन कुनै सार्वजनिक कार्यक्रम छैन: सचिवालय
काठमाडौं — आज भाइटीकाको दिन प्रधानमन्त्री सुशीला कार्कीको कुनै पनि सार्वजनिक कार्यक्रम नरहेको जानकारी दिइएको छ। प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमा फैलिएको भ्रमलाई स्पष्ट पार्दै यस्तो जानकारी दिएको हो।
केही दिनयता ‘जेन-जी २.०’ नामक समूहले माइतीघर मण्डलमा प्रधानमन्त्रीको उपस्थितिमा सहिद परिवार र आन्दोलनका घाइतेका लागि दीप प्रज्ज्वलन कार्यक्रम हुने गरी प्रचार गरेपछि सचिवालयले खण्डन जारी गरेको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले भने, “प्रधानमन्त्रीज्यूको आज कुनै सार्वजनिक कार्यक्रम छैन र उहाँले टीका पनि परिवारमै सीमित भएर मनाइरहनुभएको छ।” उनले थपे, “प्रधानमन्त्रीसँग उक्त कार्यक्रममा उपस्थित हुने कुनै कुराकानी समेत भएको छैन।”
सामाजिक सञ्जालमा फैलिएको यस किसिमको गलत प्रचारले जनतामा भ्रम उत्पन्न हुन सक्ने भन्दै सचिवालयले सचेत रहन आग्रह गरेको छ।