रौतहटमा डुबेर तीन बालिकाको मृत्यु, चार जना सकुशल उद्धार
असोज २७ – रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान डुबेर तीन बालिकाको ज्यान गएको छ। बाढीको पानी जमेको खाल्डोमा परेर उनीहरूको मृत्यु भएको हो। सोही घटनामा चार बालिका भने पौडी खेलेर सकुशल बच्न सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार मृतकहरूमा इन्दल बैठाकी १३ वर्षीया छोरी आस्था कुमारी बैठा, नवल यादवकी १५ वर्षीया छोरी रजनी कुमारी यादव, र रूपा बैठाकी १५ वर्षीया छोरी मौसमी कुमारी बैठा रहेका छन्।
राजदेवी नगरपालिका–८, लक्ष्मीपुर टोलबाट घाँस काट्न गौरतर्फ गएका सात बालिकाहरू बाढीले जमेको खाल्डोमा परेका थिए। चार जना बालिकाले पौडी खेलेर ज्यान जोगाउन सफल भए पनि तीन जना बेपत्ता भएका थिए।
बेपत्ता बालिकाहरूको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनाको टोली खटिएको थियो। करिब पौने १२ बजे तीनै जनालाई पानीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। अस्पतालमा १२:०९ बजे चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।
सकुशल उद्धार भएकाहरूमा १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी कुमारी राम र १५ वर्षीया सुनिता कुमारी बैठा रहेका छन्।
मृतक बालिकाहरूको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। दुर्घटना भएको स्थान सशस्त्र प्रहरी बलको गार्ड कार्यालयबाट करिब ५० मिटर पूर्वतर्फ रहेको बताइएको छ।