सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गर्यो
काठमाडौं, १४ कात्तिक – सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। यसअघि जारी गरिएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावअनुसार नयाँ मापदण्ड लागू गरिएको हो।
अध्यागमन विभागका अनुसार १० माघ २०८० देखि लागु भएको पुरानो मापदण्ड र अन्य समयमा जारी भएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट नयाँ मापदण्ड लागू गर्ने निर्णय भएको हो। विभागले सबै नेपाली नागरिकलाई बिचौलियाको प्रभावमा नपरी, पूर्ण रूपमा सुसूचित भएर यात्रा गर्न अनुरोध गरेको छ।
नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जाँदा, कम्तीमा ६ महिनाको अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थानसम्मको हवाई टिकट र भ्रमणको प्रयोजनका लागि आवश्यक कागजात साथमा राख्नुपर्नेछ। साथै, यात्राबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार हुने स्वघोषणा अनिवार्य गरिएको छ।
पुरानो मापदण्डमा दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्नेका लागि तीन पुस्ते विवरणलगायतका कागजात आवश्यक पर्ने व्यवस्था थियो। नयाँ मापदण्डले प्रक्रियालाई सरल बनाउने र बिचौलियाको असुली घटाउने उद्देश्य राखेको विभागले जनाएको छ।