झापामा महिला गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु
झापा, १४ कात्तिक – ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।
प्रतियोगिता बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण दुई दिन ढिला भएको हो। यसअघि शनिबार शिवसताक्षीस्थित दुधे रंगशालामा प्रतियोगिता सुरु हुने तय गरिएको थियो।
प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ।
प्रतियोगिताको विजेताले रु १० लाख १० हजार, उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार, अन्य विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार, र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ले १५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब र भारतको सिक्किम सिग्लिङ स्पोर्टिङ क्लबले भाग लिने छन्।