आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघले जनायो ऐक्यबद्धता
नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले देशव्यापी आन्दोलनरत नर्सहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरूको पेशागत मर्यादा र श्रमको उचित सम्मानका लागि तलब वृद्धि तथा न्यायोचित मागप्रति ऐक्यबद्धता जनाएका हुन्।
निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू, स्वास्थ्यकर्मीहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘अधिकांश नर्सहरूले सरकारी पाँचौँ तह अनुरूपको न्यूनतम पारिश्रमिक कानुनी व्यवस्था छ तर हाल नेपालका नर्सहरू आधा वा झन्डै १५–२० हजार रुपैयाँमा काम गर्न बाध्य छन् । यसले नर्सहरूको जीवन र भविष्यमा गम्भीर असर पारेको छ । यसर्थ, देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलन प्रति नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय समिति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ ।’
श्रम ऐनले श्रमिकहरूका लागि हप्तामा ४८ घण्टाको कार्यसमय, ओभर टाइममा १.५ गुणा पारिश्रमिक, स्वास्थ्य सुरक्षा सहित मातृत्व सुविधा प्रदान गर्ने व्यवस्था गरेको भएपनि ती कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा स्वास्थ्य क्षेत्रभित्र अन्याय र शोषणको अवस्था यथावत् रहेको उल्लेख छ।