मिर्चैया नगरपालिका छड्की टोलमा आक्रमण : पीडित परिवारको प्रहरीमाथि दोषी छाडिएको आरोप
सिरहा — मिर्चैया नगरपालिका ३ छड्की टोलमा घरमै आक्रमण भएपछि एक परिवार घाइते भएका छन् । घटनामा संलग्न पाँच मध्ये तीन जनालाई प्रहरीले राजनीतिक दबाबका कारण छाडेको पीडितले आरोप लगाएका छन् भने प्रहरीले जाहेरी दर्ता नगरेको बताइएको छ।
यही कात्तिक २ गते साँझ १५–२० जनाको समूहले शिवनन्दन यादवको घरमा खुकुरी, रड र भाटाले प्रहार गरी शिवनन्दन (६०), उनकी श्रीमती दुर्गी देवी (५७), छोरा जमाहिर (४२) र बुहारी रिता यादव (३७) घाइते भएका थिए । उनीहरूमध्ये केही उपचाररत छन् भने केही घर फर्किसकेका छन्।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले भने, ‘घटनाको आधारमा मिर्चैया ३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादव गरी पाँच जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट तीनजनालाई संलग्नता नदेखिएपछि तारेखमा छाडिएको हो।’
पीडित शिवनन्दन यादवले भने, ‘दोषीलाई छाडेपछि र प्रहरीले जाहेरी दर्ता नगरेपछि हामीलाई न्याय कसरी मिल्छ ? दोषी नै उम्किरहेको छ ।’
प्रहरीका अनुसार, घटनामा संलग्न नभएका व्यक्तिहरूको नाम जाहेरीमा राखिएपछि दर्ता हुन नसकेको हो। ‘सही नामबिना जाहेरी दर्ता हुन सक्दैन,’ डिएसपी पुरीले थपे।
स्थानीयहरूले यस घटनाले क्षेत्रको सुरक्षा र प्रशासनिक कारबाहीप्रति सवाल उठाएको बताउँदै शीघ्र न्यायका लागि कदम चाल्न माग गरेका छन्।