कोशी प्रदेश मुख्यमन्त्री कार्कीले विद्युत् कटौती समाधानका लागि वार्ता र संवादको आह्वान गरे
काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएका विद्युत् कटौतीसम्बन्धी समस्या वार्ता र संवादबाट समाधान गर्न आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उद्योगहरूमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै सम्बन्धित पक्षहरूलाई यथाशक्य छिटो समस्याको समाधान गर्न अनुरोध गरेका हुन्।
उक्त विज्ञप्तिमा भनिएको छ कि आर्थिक क्षेत्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा निजी उद्योग, सुपरमार्केट र सञ्चार क्षेत्रमा आगजनी तथा तोडफोड भएसँगै लगानीको वातावरण प्रभावित भएको थियो। मुख्यमन्त्री कार्कीले सुरक्षाव्यवस्था सुनिश्चित गर्दै विद्युत् कटौतीसम्बन्धी समस्या समाधानका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।