विद्रोही समूह हमासले अपहरण गरेका विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा
काठमाडौं — विद्रोही समूह हमासले अपहरण गरेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल पठाउनुअघि इजरायलको राजधानी तेल अवीवस्थित बेनगुरियन विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
इजरायली विदेश मन्त्रालयको घोषणाअनुसार, जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा कफिनमा ओढिएको नेपाली झण्डासहित श्रद्धाञ्जली सभा गरिएको हो। सभा स्थलमा इजरायलमा रहेका नेपालीहरू, इजरायली प्रशासनका अधिकारी र स्थानीय नागरिकहरू सहभागी थिए।
अध्ययनका लागि इजरायल गएका जोशीलाई हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा गत अक्टुबर ७ मा बन्धक बनाएको थियो। लामो खोजीपछि असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
इजरायल र हमासबीच भएको युद्धविरामपछि बन्दी साटासाटको क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक जाँचले शव विपिनकै भएको पुष्टि गरेको छ भने मृत्यु अपहरणकै समयमा भएको जानकारी आएको छ।
जोशीको शव फ्लाई दुबईको विमानमार्फत सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइनेछ। प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि श्रद्धाञ्जली सभा गर्ने तयारी गरेका छन्।
यो घटनाले सम्पूर्ण नेपालीमा गहिरो पीडा र शोक सृजना गरेको छ।