एमालेको सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ, १४ कात्तिक – नेकपा एमालेको **सचिवालय बैठक** शनिबार बिहान अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुर गुण्डुमा बस्ने भएको छ।
बैठकमा मुख्यगरी दुई विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। बैठकले आगामी मंसिर २७–२९ गते पोखरामा हुने ११ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने र विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय गर्ने अपेक्षा गरिएको छ।
साथै, बैठकले महाधिवेशनका लागि सदस्यताको निर्क्योल, प्रतिनिधि चयनको विधि र मापदण्ड निर्धारण गर्न तथा विभिन्न उपसमितिहरू गठन गर्ने काम पनि गर्नेछ।
एमालेले २०७८ मंसिरमा चितवनको सौराहामा १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो। यसपटक महाधिवेशन नियमित पाँच वर्षको अवधिभन्दा झन्डै एक वर्ष अघि गर्न लागिएको छ।