एमालेको ११औँ महाधिवेशनमा ६ लाख ६० हजार सदस्यबाट प्रतिनिधि छनोट हुने
१४ कात्तिक, काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि करिब ६ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुने भएका छन्।
पार्टीको सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरूबाटै महाधिवेशनका प्रतिनिधि छनोट गरिनेछ। उनले भने, “सङ्गठित सदस्यहरूको प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको छ, यही सदस्यहरूबाट प्रतिनिधि चयन हुनेछ।”
भोलि बस्ने सचिवालय बैठकले प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने तयारी गरेको अधिकारीले जानकारी दिए।
यसअघि भएको १०औँ महाधिवेशनमा करिब ८ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएको थियो।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना हुने तय भएको छ।