गभर्नरलाई भाडाको घर खोज्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ।
राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै घर भाडामा लिन प्रस्ताव गरेको हो। गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई वटा घर जेनजी आन्दोलनका बेला जलाइएको थियो।
राष्ट्र बैंकले ललितपुर बखुन्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्रमा अवस्थित १६ आनादेखि २४ आनासम्म जग्गा भएको र कम्तीमा ६ वटा कार/जिप पार्किङ गर्न मिल्ने क्षेत्रसहितको घर भाडामा लिन खोजेको छ।
आरसीसी स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्गफिट पिलिन्थ क्षेत्रफलमा बनेको र कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको घर खोजेको छ।
सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्र सडकसँग जोडिएको, बिजुली, ढल निकास र खानेपानी लगायत पूर्वाधार व्यवस्था भएको घर खोजी गरिएको छ
। २७ असोजसम्म घर भाडा प्रस्ताव पेस गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ।