रविलाई नख्खुबाट निकालेको ‘किर्ते कागज’ले बढायो डीपीको संकट, छानबिन गर्न विशेष कार्यदल
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बसेको छ । मंगलबार र बुधवार बसेको बैठक निक्कै महत्वका साथ हेरिएको थियो । मंगलबार ११ र बुधवार ८ घण्टा बसेको रास्वपाको बैठकमा मुख्य चार विषयमा केन्द्रित भएको छ ।\
जेन–जी आन्दोलनले विध्वंशात्मक रुप लिएको दिन भदौ २४ गते रास्वपा सभापति लामिछाने नख्खु कारागारबाट भागेको कुराले चर्काे विवाद भएको थियो । रवि नख्खु फर्किसके पनि रास्वपा बैठकमा यसबारे नेताहरूबीच आरोप–प्रत्यारोप नै चल्यो ।
बैठकमा बहुमत केन्द्रीय सदस्यले सभापति लामिछाने नख्खु कारागारबाट किर्ते कागज बनाएर भागेपछि पार्टी नै संकटमा गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
केन्द्रीय सदस्यहरू गणेश कार्की, पार्टी प्रवक्ता मनिष झा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र तोसिमा कार्की लगायत यसबारेमा प्रश्न गरेका थिए ।
बैठकमा नख्खु कारागार प्रशासनले पटक–पकट फोन गरेर रविलाई सुरक्षा दिन नसकेकाले लैजान आग्रह गरेपछि गरेर कागज बनाएर निकालेको ब्रिफिङ कार्यवाहक सभापति डीपी अर्यालले गरे ।
यति मात्रै होइन, उनले दुईवटा सुरक्षा निकायका प्रमुखले समेत ‘रविलाई जेलबाट निकालेर लैजान’ भनेको जिकिर गरे । त्यहीकारण आफूहरू गएर जेलबाट निकालेको प्रष्टिकरण उनले बैठकमा दिए । रविलाई छुटाउन बनाइएको कागज पनि कारागार प्रशासनले नै लेखेको जिकिरसमेत गरेका छन् ।
अर्यालले सभापतिको ज्यान बचाउने कोसिस गर्दा कमजोरी भएको स्वीकारे । ‘हामी कहिले यस्तो अवस्थामा परेका थिएनौँ । सभापतिको ज्यान बचाउन जिम्मेवारी लिनुपर्ने भयो,’ अर्यालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर त्यो कागज मैले बनाएको होइन । रवि दाइले कागज नभई नजाने भनेपछि कारागारले नै बनाएको हो ।’
अर्यालले यति भनेपछि पार्टी सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झाले पनि यसबारे बोलेका थिए । झाले भदौ २४ मा आफू नख्खु गए पनि पत्र बनाउने काममा संलग्न नभएको बताए । उनले फोन आएपछि रविलाई लिन गएको स्वीकारे ।
रास्वपा बैठकमा कार्यवाहक सभापति अर्यालले नै किर्ते कागज बनाएर रविलाई निकालेको आँकलन र विश्लेषण नेताहरूले गरे । यसबारे केही नेताले डीपीलाई बैठकमै सोधे । तर उनले उक्त किर्ते कागज बनाएको स्वीकारेनन् । कारागार प्रशासनले नै बनाएको भन्दै पन्छिए । बैठकमा डीपीको बचाउमा सह–कोषाध्यक्ष दीपक बोहरा र सह-महामन्त्री आचार्य उत्रिए ।
सह–प्रवक्ता प्रतिमा रावलले पनि कागज किर्ते नभएको भन्दै अर्यालको बचाउ गरिन् । तर, रास्वपा नेताहरूले उनीहरूको कुरा पत्याएनन् । त्यसपछि कागजबारे छानबिन गर्न विशेष कार्यदल बनाउने निर्णय भएको छ । कार्यदलको मोडालिटी सार्वजनिक भएको छैन ।
कार्यवाहक सभापति अर्यालको कार्यशैलीमा नेताहरू असन्तुष्ट छन् । उनको कार्यशैलीले पार्टीलाई घाटा भएकाले कार्यवाहक नै परिवर्तन गरेर उनीमाथि अनुसन्धान गर्नुपर्ने प्रश्न उठेको छ । उनी भने परिस्थितिजन्य कारण देखाएर पन्छिने गरेका छन् । पत्र कारागार प्रशासनले नै दिएको भन्दै पन्छिन खोजे पनि अनुसन्धानले सत्य पत्ता लगाउने नेताहरू बताउँछन् ।