बिपी राजमार्ग दशैँमा पुनःमर्मत गरिँदै
एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण गरिएको बिपी राजमार्ग चाडवाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ।
राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्नेगरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयले बाढी पहिरोपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरेको थियो। यसपटकको वर्षामा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै स्रोत साधन तयारी अवस्थामा राखेर खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाइने कार्यालयले जनाएको छ।
यसपालिको क्षति रोक्न काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा ग्याबिन जालीसहित पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन विभिन्न उपकरण तयारी अवस्थामा राखिएका छन्।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै तत्काल हटाउन सडक पुनःनिर्माणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको बताए।
क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो।