'हामी कहाँ चुक्यौँ ?'
काठमाडौँ । नेकपा माओवादी केन्द्रले युवाहरूको स्पीरिटको सम्मान गर्न तथा देशी विदेशी प्रतिक्रियावादी षडयन्त्र र हस्तक्षेपको व्यवस्थित प्रतिवाद गर्न विचार, संगठन र संघर्षलाई नयाँ उचाइमा उठाउनु अनिवार्य बन्न गएको ठहर गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको गम्भीर र व्यवस्थित समीक्षासहित माओवादीले यस्तो ठहर गरेको हो ।
गत असोज १० गते सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेर पारित भएको प्रतिवेदनमा यो परिस्थितिमा बस्तुगत र आत्मगत परिस्थितिको गम्भीर समीक्षा गर्नुपर्ने पहिलो आवश्यकता रहेको उल्लेख छ ।
‘हामी राजनीतिक एजेन्डाका हिसाबले सही छौँ भन्ने कुरा इतिहासले पुष्टि गरेको छ तर राजनीतिक विचार सही हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा भने हाम्रो भूमिकालाई गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ’, प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘हामी कहाँ चुक्यौँ ?’
प्रतिवेदनमा 'विचार र संगठन, विचार र कार्यशैली, विचार र पार्टी–संस्कृति तथा पार्टी र जनताबीच के–कस्ता अन्तर्विरोधका कारण माओवादीले आफ्नै मुद्दाहरूको अगुवाइ गर्न सकेन र सिङ्गो राष्ट्रिय राजनीति माओवादीले नै उठाउँदै आएका मुद्दाहरूमा केन्द्रित भएपनि माओवादीमाथि नै प्रहार हुने अवस्था किन सिर्जना भयो ?' भनेर माओवादीले आफैलाई प्रश्न गरेको छ ।
‘जेनजी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरूमाथिको संकट भने टरेको छैन’, प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई विभिन्न बहानामा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठपुतली पात्रमार्फत स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरू बाँकी नै रहेका छन् ।’
यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन जोड दिनुपर्ने माओवादीले जनाएको छ । यसक्रममा विचार मिल्ने पक्षहरूसँग एकता र ध्रुवीकरणको पहल गर्ने, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरूसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता माओवादीले औँल्याएको छ ।
‘उपरोक्त पृष्ठभूमिबाट स्पष्ट हुन्छ कि यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौँ’, माओवादीले विश्लेषण गरेको छ, ‘क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिने अवसर र चुनौती हाम्रा सामु रहेको छ ।’
त्यसैले समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने प्रचण्डले औँल्याएका छन् ।