खराब लयमा रहेको वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने लक्ष्यमा नेपाल
काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको अन्तिम तयारीस्वरुप नेपालले भोलि शनिबारदेखि वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दै छ ।
नेपालका लागि यो तयारी शृंखला मात्र नभएर ऐतिहासिक शृंखला नै हुनेछ । नेपाले आईसीसीको पुर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलोपटक हो ।
यसका अलावा नेपाललाई यस शृंखलामा अर्को इतिहास बनाउने अवसर पनि छ । नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्यलाई टी-२०आईमा हराउन सकेको छैन ।
दुईपटकको विश्वविजेता वेस्ट इन्डिज पछिल्लो समय खराब लयबाट गुज्रिरहेकाले नेपाललाई यस इतिहास बनाउने सुनौलो अवसर हुनेछ । खेलसँगै शृंखला पनि जित्ने दाउमा नेपाल हुनेछ ।
वेस्ट इन्डिजको खराब लय
पावर हिटिङले परिचित वेस्ट इन्डिजको टोली पछिल्लो समय खराब लयमा छ । सन् २०२५ मा १२ वटा टी-२०आई खेलेको वेस्ट इन्डिजले २ वटा मात्र जितेको छ । पछिल्ला ८ खेलमा एउटा मात्र जितेको छ ।
जुनमा भएको इंग्ल्याण्डसँगको ३ खेलको टी-२०आई शृंखलामा सबै खेल हारेको वेस्ट इन्डिजले त्यसपछि आयरल्याण्डलाई हराउँदा अस्ट्रेलियासँग लगातार ५ हार बेहोर्यो भने पाकिस्तानसँग १ खेल जित्दा २ खेलमा हार बेहोरेको थियो ।
अर्कोतर्फ वेस्ट इन्डिजले यस शृंखलामा बलिङ विभागलाई सुधार गर्ने लक्ष्यसहित केही नयाँ खेलाडीहरूलाई पनि मौका दिएकाले यस हारको शृंखला तोडेर लयमा फर्कन नयाँ खेलाडीहरूले पनि राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।