जेनजी आन्दोलनको आडमा ढालियो लखन थापाको शालिक
जेनजी पुस्ताका युवाले गरेको आन्दोलनको आडमा पोखरामा शहीद लखन थापाको शालिक ढाल्न राजावादीहरु सफल भएका छन् ।
यसअघि पटक–पटक आन्दोलनसहित प्रयास गर्दा पनि असफल भएका राजावादी र पृथ्वीचोकमा पृथ्वीनारायणकै शालिक हुनुपर्छ भन्ने मान्यता राख्नेहरु जेनजी आन्दोलनको काँधमा चढेर आफ्नो योजना पूरा गर्न सफल भएका हुन् ।
जेनजी आन्दोलनको दोस्रो दिन राजावादी समर्थित राप्रपाका नेता तथा युवाहरुकै उपस्थितिमा लखन थापाको शालिक ढालेर पृथ्वीनारायण शाहको प्रतिमा राख्दै उनीहरुले खुसी मनाएका थिए ।
नेपालका प्रथम शहीद लखन थापाको सालिक हटाइएकोमा नेपाल आदिवासी जनजाति महासंघले खेद प्रकट गर्दै पुनर्स्थापित गर्न माग गरेको छ ।
जेनजी आन्दोलन उग्र बन्दै गएपछि पोखरामा राजावादी भनेर चिनियाँ राप्रपाका नेताहरु तथा युवाहरुकै उपस्थितिमा शालिक ढालिएको थियो । जेनजीको पहिलो दिनको आन्दोलनमा पनि राप्रपाका नेताहरु घुसपैठ गरेर प्रदर्शनलाई आफ्नो अनुकूल चलाउन खोजेका थिए । दोस्रो दिनको आन्दोलन ध्वंसात्मक बन्नुमा पनि राप्रपा र रास्वपाका उक्साहट व्यक्तिहरुको हात रहेको जेनजी अभियन्ताहरुले बताइरहेका छन् ।