शुक्लाफाँटामा लम्पी स्किन रोग सङ्क्रमण पुष्टि
शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ ।
गाईको बाच्छीमा रोगका लक्षण देखिएपछि पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमुना सङ्कलन गरेको हो । सङ्कलित नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । नमुनाको पिसिआर विधिबाट परीक्षण गरिँदा लम्पी स्किन पुष्टि भएको पशु चिकित्सक जोशीले जानकारी दिए ।
जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा दुई वर्षअघि मात्र लम्पी स्किन रोग देखिएको थियो । त्यसयता हालसम्म यो पहिलोपटक पुनः सङ्क्रमण भेटिएको हो । हाल एकमात्र गाईको बाच्छीमा रोग देखिएको भए पनि आसपासका गाईभैँसीलगायत अन्य पशुमा भने लक्षण भेटिएको छैन ।
सुदूरपश्चिम प्रदेशमा लम्पी स्किनविरुद्धको खोप न्यूनमात्र लगाइएको र वर्षायाम चलिरहेकाले रोग व्यापक फैलिने चुनौती रहेको वरिष्ठ पशु चिकित्सक जोशीले बताए । उनका अनुसार खोप सबैभन्दा प्रभावकारी उपाय भए पनि प्रदेशमा हाल मौज्दात नभएकाले रोगले विगत विसं २०८० सालमा जस्तै विकराल रूप लिन सक्ने देखिन्छ ।
उनका अनुसार यो रोग लागेमा गाईभैँसीमा विशेष गरी शरीरभरि गाँठी (ठुला दाना) उठ्ने, आँखा वरिपरि, नाक र मुखमा फोका देखिन उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट वा बढी), शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, कचेरा निकाल्ने, सिङ्गान बग्ने, फिँज धेरै निकाल्ने तथा लिम्फ नोड सुन्निनेजस्ता लक्षण देखिन्छन् ।
शुक्लाफाँटा नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार चार वर्षअघि वडा नं १२ कालागौंडीका किसानले पालेका गाईमा लम्पी स्किन रोग भेटिएको थियो । त्यसपछि अहिले वडा नं ९ सिसैयामा पुनः रोग देखिएको हो ।