बुकिङ रद्द बढ्यो ,जेनजी आन्दोलनपछि घट्यो पर्यटक आगमन
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पुर्याएको छ । आन्दोलनपछि दिनचर्या करिब सामान्य अवस्थामा फर्किसकेको भए पनि पर्यटकहरूमा त्रास कायमै देखिन्छ ।
सेप्टेम्बर विदेशी पर्यटकका लागि मुख्य सिजन हो । तर यही महिनामा पर्यटन आगमनमा उल्लेख्य कमी आएको छ ।
नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) सबैले नकारात्मक प्रचार र सुरक्षा जोखिमले पर्यटनमा गिरावट आएको बताएका छन् । नाटाका अध्यक्ष कुमारमणि थपलियाका अनुसार नकारात्मक प्रचार र सुरक्षा जोखिमको गलत सन्देशका कारण पर्यटक आगमनमा भारी गिरावट आएको छ ।
बुकिङ रद्द हुने क्रम पनि बढेको छ । सामान्यतया सेप्टेम्बर र अक्टोबरमा मासिक करिब एक लाख पर्यटक नेपाल आउने गरेका थिए । ‘सेप्टेम्बर ८ सम्म दैनिक करिब ३ हजार पर्यटक आइरहेका थिए, तर अहिले त्यो सङ्ख्या एक हजारमा झरेको छ,’ थपलियाले रातोपाटीसँग भने ।
बुकिङ रद्द हुनुको मुख्य कारणमा सुरक्षासम्बन्धी विश्वव्यापी बजारमा फैलिएको भ्रम र गलत सूचना प्रमुख रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । विशेष गरी सांस्कृतिक, माइल्स र २०–२५ जनाको नियमित समूहका भ्रमण धेरै रद्द भएका छन्, जबकि साहसिक पर्यटनमा भने तुलनात्मक रूपमा कम असर परेको छ ।
‘मुख्यतः दुई कुराले विश्व बजारमा चिन्ता बढाएको छ,’ थपलियाले भने, ‘एउटा, हतियार खोसिएको वा लुटिएको भन्ने समाचार । अर्को, आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू जेलबाट छुटेको भन्ने हल्ला छ ।’
यसबाहेक भारतको ‘इन्डिया टुडे’ जस्ता मिडियामा सिंहदरबार अगाडि बन्दुक बोकेको व्यक्तिको तस्बिर सार्वजनिक भएपछि नेपालमा लुटपाट र अराजकता बढेको भन्ने गलत सन्देश प्रवाह भएको पाइएको छ । ‘हाम्रो देश नै अराजक र सुडानतिरको जस्तो गाडीमा बन्दुक लिएर हिँडेको जस्तो छाप मान्छेको दिमागमा परेको छ,’ उनले भने ।
नेपाल पर्यटन बोर्ड (एनटीबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीका अनुसार आन्दोलनका कारण पर्यटक आगमन ३७ देखि ३८ प्रतिशतले घटेको छ भने २ हजार २०० देखि २ हजार ५०० जनाको रोजगारी जोखिममा परेको छ । सेप्टेम्बरमा दैनिक करिब ३ हजार २०० देखि ३ हजार ३०० र अक्टोबर–नोभेम्बरमा ४ हजार भन्दा बढी पर्यटक आउने गरेकोमा अहिले यो सङ्ख्या घटेर २ हजार २०० को हाराहारीमा पुगेको जोशीले बताए ।
हानका अध्यक्ष विनायक शाहका अनुसार आन्दोलनका कारण देशभर करिब ३० वटा होटल र रेस्टुरेन्टमा आंशिक क्षति पुगेको छ भने दुई केबलकारको बेस स्टेसन पनि प्रभावित भएका छन् । चार–पाँचवटा होटलहरूमा भने बढी क्षति भएकाले ती ६ महिनादेखि एक वर्षसम्म सञ्चालनमा आउन नसक्ने स्थिति छ, जसले ठुलो संख्यामा रोजगारी गुमाउन सक्ने अवस्था सिर्जना गरेको छ ।
असुरक्षाको भावना र त्रासको वातावरणलाई पर्यटक आगमनमा कमी आउनुको मुख्य कारण सीईओ जोशीले औंल्याएका छन् । कैदीहरू बाहिरै रहेको अवस्था, हातहतियार बाहिरै रहेको जानकारी, भाटभटेनी जस्ता ठाउँमा भएको तोडफोड तथा लुटपाट र होटलहरूमा भएको आक्रमणका घटनाले बाह्य मुलुकमा नकारात्मक सन्देश गएको उनको भनाइ छ ।
नेपाल सरकार र पर्यटन निकायहरूले पर्यटकलाई आश्वस्त तुल्याउन विभिन्न पहल गरिरहेका छन् । ट्राभल एडभाइजरीहरूलाई ‘माइल्ड’ बनाउने प्रयास भइरहेको छ । प्रधानमन्त्रीले नै विश्व बजारलाई नेपाल सुरक्षित रहेको र भ्रमण गर्न सकिने भन्दै आश्वस्त पार्ने गरी सम्बोधनको आवश्यकता महसुस गरिएको नाटा अध्यक्ष थपलियाले बताए ।
नेपाल पर्यटन बोर्डले विदेशीहरूलाई नेपालको वर्तमान अवस्थाबारे जानकारी दिन दैनिक बिहान र बेलुका हेरिटेज साइटहरू बसन्तपुर, पाटन, भक्तपुर, बौद्ध, पोखरा, मनास्लु, लुक्ला, चितवन लगायतका पर्यटकीय गन्तव्यबाट पर्यटकका गतिविधिहरूको प्रत्यक्ष प्रसारण गरिरहेको छ । यसबाट केही हदसम्म बुकिङ रद्द हुने क्रम घटेको र पर्यटकहरूमा सकारात्मक सन्देश गएको जोशीले बताए ।
बोर्डले नेपाली डायस्पोरा, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्थाहरू र डिजिटल प्लेटफर्ममार्फत पनि सकारात्मक सन्देश फैल्याइरहेको उनले बताए । साथै, मुख्य स्रोत बजारबाट इन्फ्लुएन्सर, मिडिया र विशिष्ट व्यक्तित्वहरूलाई नेपाल भ्रमण गराई वास्तविकता देखाउने योजना पनि छ ।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले हालै देशमा देखिएको छोटो अवधिको राजनीतिक आन्दोलनपछि नेपालको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्किसकेको बताएका छन् । उनले पर्यटकहरूलाई नेपाल भ्रमणका लागि ढुक्क भएर आउन आग्रह गर्दै सबै होटल, रेस्टुरेन्ट र हवाई सेवा सामान्य रूपमा सञ्चालन भइरहेको बताएका छन् ।
अध्यक्ष शाहले २३–२४ घण्टे आन्दोलनले सुरुमा केही बुकिङ रद्द भएको स्वीकार गरे ।