चुच्चेपाटीको भाटभटेनीमा लागेको आगो चार दिनसम्म नियन्त्रणमा आएन
चुच्चेपाटीस्थित भाटभटेनीमा लागेको आगो चार दिनसम्म पनि नियन्त्रणमा आएको छैन। प्रदर्शनकारीहरूले मंगलबार चुच्चेपाटीमा रहेको आउटलेटमा आगो लगाएका थिए। प्रदर्शनकारीहरूले सुरूमा तोडफोड गर्न थालेका थिए। एक्कासि तोडफोड हुन थालेपछि त्यहाँ रहेका कामदारहरूले भागेर ज्यान जोगाएका थिए।
कामदारहरू निस्किएपछि प्रदर्शनकारीले भित्रै पसेर लुटपाट र आगजनी सुरू गरेका थिए। अहिले भाटभटेनीको अन्तिम तलामा आगो लागिरहेको छ भने नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले निभाउने प्रयास पनि गरिरहेको छ। नेपाली सेनाले बुधबारबाटै निभाउने प्रयास गरे पनि खाद्यान्न, लत्ताकपडा, घरायसी सामग्रीको ठूलो भण्डारण रहेको भाटभटेनीको आगो नियन्त्रणमा आएको छैन। शुक्रबार बिहान पनि त्यहाँ दुइटा दमकल र केही पानी ट्यांकर तैनाथ गरिएको छ।
मंगलबार राति पुछारको तलामा रहेको प्रज्ज्वलनशील वस्तुहरू विस्फोट हुँदै आगाको लप्का निस्कन थालेपछि स्थानीय त्रसित बनेका थिए।
मंगलबार आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति भएको छ। भाटभटेनीका प्रतिनिधि पानु पौडेलका अनुसार यी शाखाहरूमा प्रदर्शनकारीले चोरी, तोडफोड र आगजनी गरेका छन्।
१२ वटा शाखामा लुटपाटपछि आगो झोसिएको हो भने ९ वटामा तोडफोड र लुटपाट गरिएको छ।
देशभर छरिएका सात वटा शाखामा मात्र कुनै क्षति पुगेको छैन।