सञ्चालनमा आए गुल्मीका बन्द उद्योग-व्यवसाय
२३ र २४ भदौमा चलेको जेनजी आन्दोलनका कारण दुई दिनसम्म पूर्ण रूपमा बन्द रहेका गुल्मी जिल्लाका उद्योग व्यवसाय पुनः सञ्चालनमा आएका छन् । आन्दोलनका कारण जिल्लाभरका उद्योग, पसल तथा व्यावसायिक गतिविधि ठप्प भएका थिए ।
आन्दोलनका क्रममा यातायातदेखि बजार व्यवसायसम्म प्रभावित भएको थियो । दैनिक आम्दानीमा निर्भर व्यवसायी र मजदुरहरूले असुविधा बेहोर्नुपरेको थियो । आन्दोलन शान्त भएपछि मंगलबारदेखि जिल्लाभरका उद्योग व्यवसाय पुनः नियमित सञ्चालनमा आएका छन् ।
प्रशासनले शान्ति सुरक्षाको प्रत्यभूति गरेका भन्दै आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले बताए ।
जिल्लाभर रहेका निजी तथा सरकारी विद्यालय भने सञ्चालनमा आएका छैनन् । मंलबारदेखि विद्यालय बन्द अवस्थामा छन् ।
व्यवसायीहरूले लामो समयसम्म यस्तै बन्द हड्ताल दोहोरिन नदिने वातावरण बनाउनुपर्ने बताएका छन् । बन्दका कारण दैनिक जीवन प्रभावित हुने भएकाले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्लामा कुनै पनि घटना नहुन दिन नेपाली सेनाले गस्ती गरिरहेको छ । जेनजी आन्दोलनका कारण जिल्लामा तीन मुख्य पार्टीका कार्यालय तोडफोडसँगै सामग्रीमा आगजनी भएको थियो ।