मुद्दाको टुंगो नभए सम्म रविले सभापति पद छोड्नुपर्ने रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी ठगीमा नख्खु जेलमा रहेका सभापति रवि लामिछानेले पद छाड्नुपर्ने आवाज उठेको छ।
मंगलबार बसिरहेको केन्द्रीय समिति बैठकमा सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी निरूपण नभएसम्मका लागि लामिछानेले सभापति छाड्नुपर्ने प्रस्ताव आएो हो ।
केन्द्रीय कार्यालय च:मतीमा जारी बैठकमा प्रदेश सभापतिहरूले मुद्दा किनारा नलागेसम्मलाई रविले पद छाड्नुपर्ने प्रस्ताव राखेका हुन् ।
रास्वपाका सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सभापति सरिन तामाङ, लुम्बिनीका सभापति देवराज पाठक र गण्डकीका सभापति राजन गौतमले बैठकमा उक्त प्रस्ताव राखेका हुन् । अन्य तीनवटा प्रदेशका सभापतिहरू भने यसबारेमा मौन बसेको बैठकमा सहभागी एकजना नेताले बताएका छन् ।
उनीहरू चारैजनाले विभिन्न पाँचवटा जिल्लामा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाको किनारा लागेपछि मात्रै रविले सभापतिका रुपमा काम गर्नु उचित हुने धारणा राखेका हुन् ।
एकजना नेताका अनुसार पदेन केन्द्रीय सदस्य रहेका प्रदेश सभापतिहरूले प्रदेशबाट राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा रविले सभापति पद छाड्नुपर्ने कुरा उठाएका हुन् ।
त्यसैगरी बैठकमा गत भदौ २४ गते हुलदंगा गर्दा ललितपुरस्थित नख्खु कारागारबाट रवि निस्किएको विषय पनि उठाएका छन् ।
रविलाई निकाल्न उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसहित पुगेको विषयलाई लिएर बैठकमा कुरा उठाइएको हो ।
प्रवक्ता झाले रविलाई रिहाइका नाममा आफूहरू नख्खु जानुलाई गल्तीका रुपमा सार्वजनिक रूपमै स्वीकारिसकेका छन् । उनले त्यसबेला गम्भीर गल्ती भएकाले अब सँच्चिएर जानुपर्ने बताइसकेका छन् ।
रविमाथि अहिले पनि सहकारी ठगी र संगठित अपराधसहित विभिन्न मुद्दा चलिरहेको छ । रवि अहिले बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा नख्खु कारागारमा छन् ।
उनी भदौ २४ गते हुलहुज्जत गरेर नक्कली कागजका आधारमा जेलबाट निस्किएका थिए । तर त्यसबेला आन्दोलित जेन-जीसहितले गैरकानुनी रुपमा जेलबाट निस्किएको भन्दै रविलाई त्यतै फर्किन दबाब दिएपछि अहिले उनी थुनामै छन् ।